काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि कम्पनीले उक्त सहयोग गरेको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय हुन आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई आग्रह गरेको छ।
नेशनल लाइफले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।







