काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

विभागले दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ।

ADVERTISEMENT

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। त्यस्तै, मधेस प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई भूभागका थोरै स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

ADVERTISEMENT

विभागका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बादल लाग्नेछ। यी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

पश्चिम मध्य बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। जमिनमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर भएको उक्त चक्रवात आज बिहानसम्ममा न्यूनचापीय प्रणालीको थप कमजोर अवस्थामा पुग्ने सम्भावना रहेको विभागले जनाएको छ।

चक्रवातको प्रभावका कारण नेपालको वायुमण्डलमा बुधबारदेखि नै बादल देखिएको छ। आजदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै विभागले शनिबारसम्म धानबाली भित्र्याउनेलगायत कृषि कार्य गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

यस अवधिमा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न र त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन विभागले सुझाव दिएको छ। वर्षाका कारण चिसो बढ्न सक्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।