काठमाडौं । नेपालमा बीवाइडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले हालै विद्युतीय सवारीसाधन आयातसम्बन्धी विषयमा सार्वजनिक रूपमा उठाइएका विभिन्न प्रश्न र आरोपबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको तथ्यगत स्पष्टिकरणमा नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका सबै सवारीसाधन कानुनबमोजिम आयात गरिएको दाबी गर्दै कुनै पनि प्रकारको विशेष सुविधा, अनधिकृत प्रक्रिया वा अनुचित लाभ नलिइएको स्पष्ट पारेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका बीवाइडीका सवारीसाधनलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक वृत्तमा अनेक चर्चा र टिप्पणीहरू भइरहेका छन्। ती विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै साइमेक्स इंकले कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रति आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ।
साइमेक्स इंकले सार्वजनिक गरेको विवरणअनुसार हाल चर्चामा रहेका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा निर्धारित प्रक्रियाअनुसार नै आयात तथा जाँचपास गरिएका हुन्। कम्पनीले कुनै पनि चरणमा विशेष प्राथमिकता प्राप्त प्रक्रिया, अनधिकृत भन्सार सुविधा वा अन्य कुनै असामान्य व्यवस्थाको प्रयोग नगरेको दाबी गरेको छ।
कम्पनीले २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको भए पनि ती सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया हालसम्म सम्पन्न नभएको जानकारी दिएको छ। यसबाट बजारमा फैलाइएका केही दाबीहरू तथ्यसँग मेल नखाने कम्पनीको भनाइ छ।


साइमेक्स इंकका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढिरहेको छ। ग्राहकहरूबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेकाले सोही मागलाई सम्बोधन गर्न आवश्यक सवारीसाधन आयात गरिएको हो। कम्पनीले यी आयात कार्यहरू बीवाइडीको उत्पादन तालिका, ढुवानीको उपलब्धता, नियमित व्यावसायिक योजना तथा अन्तर्राष्ट्रिय यातायात व्यवस्थापनका विभिन्न पक्षलाई ध्यानमा राखेर सम्पन्न गरिएको जनाएको छ।
स्पष्टिकरणमा कम्पनीले कर परिवर्तन वा अन्य सरकारी निर्णयबाट लाभ लिनका लागि सरकारी निकायसँग विशेष समन्वय गरेको, अनुचित सुविधा प्राप्त गरेको वा कुनै प्रकारको प्रभाव प्रयोग गरेको भन्ने आरोपहरू पूर्णतः निराधार र असत्य भएको दाबी गरेको छ। यस्ता आरोपहरूले कम्पनीको प्रतिष्ठामा अनावश्यक आघात पुर्याउने काम गरेको पनि कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा बजारको मागलाई ध्यानमा राखेर सञ्चालन गरिन्छ। कुनै पनि आयात प्रक्रिया कानुनी सीमाभन्दा बाहिर गएर सञ्चालन नगरिएको कम्पनीको भनाइ छ।
साइमेक्स इंकले यस विषयमा भइरहेको कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ। सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने सम्पूर्ण कागजात उपलब्ध गराउन आफू तयार रहेको कम्पनीले जनाएको छ। आयात अभिलेख, भन्सार घोषणा विवरण, ढुवानीसम्बन्धी रेकर्ड, सीमा प्रवेश कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन कुनै समस्या नरहेको कम्पनीको भनाइ छ।
कम्पनीले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षहरूलाई तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गरेको छ। आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट पुष्टि नभएका सूचनाका आधारमा समाचार प्रकाशन वा टिप्पणी गर्दा सार्वजनिक भ्रम फैलिन सक्ने तथा कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा नकारात्मक असर पर्न सक्ने कम्पनीले जनाएको छ।
स्पष्टिकरणमा नेपालमा विद्युतीय सवारीसाधनको विस्तारले वातावरण संरक्षण, इन्धन आयातमा कमी तथा दिगो यातायात प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा तथ्यमा आधारित समाचार सम्प्रेषण तथा जिम्मेवार सार्वजनिक बहस आवश्यक रहेको कम्पनीको धारणा छ।
साइमेक्स इंकले आफू विगत धेरै वर्षदेखि नेपालको सवारीसाधन तथा स्वच्छ ऊर्जामा आधारित रूपान्तरणको यात्रामा सक्रिय साझेदारका रूपमा काम गर्दै आएको जनाएको छ। कम्पनीले इमान्दारिता, पारदर्शिता, कानुनको पालना र जवाफदेहिताका आधारमा नेपाली उपभोक्तालाई सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ।
कम्पनीले अन्त्यमा सम्बन्धित निकायद्वारा भइरहेको अध्ययन, समीक्षा तथा अनुसन्धान प्रक्रियाले वास्तविकता बाहिर ल्याउने विश्वास व्यक्त गरेको छ। साथै सार्वजनिक रूपमा फैलाइएका भ्रम र गलत सूचनाहरूको अन्त्य हुने अपेक्षा पनि गरेको छ।








