मौरिसस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्।
मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा त्यहाँ कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार संरक्षण, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो।
भेटमा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण निर्माणबारे विचार आदानप्रदान भएको पराजुलीको सचिवालयले जनाएको छ।
श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै नेपाल र मौरिससबीचको श्रम सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।










