काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । भक्तपुरको गुन्डुस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा भाग लिने एमाले पदाधिकारीहरू गुन्डु पुग्ने क्रम जारी छ । एमालेमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितका पदाधिकारी केन्द्रीय सचिवालय सदस्य सदस्य हुने प्रावधान छ ।

ADVERTISEMENT

सचिवालय बैठकमा भाग लिन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्टलगायत गुन्डु पुगिसकेका छन् ।

ADVERTISEMENT

जेनजी आन्दोलनपछि गुन्डु बाहिर निस्कन नसकेका ओलीले पार्टीको सचिवालय बैठक आफ्नै निवासमा डाकेका हुन् । एमालेको पार्टी, भ्रातृसंगठन सबैको कार्यक्रम अहिले गुन्डुमा हुँदै आएको छ । सबैमा ओलीले सहभागिता जनाइरहेका छन् ।

जनआक्रोश मत्थर भइनसकेकाले ओली सहर पस्न सकेका छैनन् । उनलाई एमाले नेता महेश बस्नेतसहितले सुरक्षा दिएर राखेका छन् । भदौ २४ को आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री ओली बालुवाटार छाडेर भागेका थिए । त्यसैले अहिले उनलाई भगौडा प्रधानमन्त्री पनि भन्ने गरिन्छ ।

ADVERTISEMENT

भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जना मारिएपछि ओली घटनाका भावी अभियुक्त पनि हुन् । उनलाई न्यायिक जाँचबुझ आयोगले छानबिनको दायरामा राखेको छ ।