काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो । जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो ।

ADVERTISEMENT

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले ३९ बलमा दुई चौकाको सहयोगमा ३२ रन बनाएकी हुन् । त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले ६ रन जोडिन् । बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई-दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । त्यस्तै, कप्तान मास एलिसाले आठ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात-सात रन बनाए ।

नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक-एक विकेट लिए ।
एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ ।