काठमाडौं। नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। कप्तान इन्दु बर्माको सानदार ब्याटिङसँगै नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
योसँगै पाँच खेलको सिरिज नेपालले २-२ को बराबरीमा पुर्याएको छ। फाइनल खेल बुधबार हुने भएको छ ।
पहिलो खेलमा नेपाल १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली ६ विकेटले विजयी बन्यो भने तेस्रो खेलमा नेपाल तीन रनको झिनो अन्तरले स्तब्ध बनेको थियो ।
मंगलबार भएको खेलमा ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ४८ रन बनाइन् । रुविना क्षेत्रीले २३ रन बनाउँदै वर्मालाई राम्रो साथ दिइन् । कविता कुँवरले २६ बलमा १६ रन तथा ओपनर सम्झना खड्काले ११ बलमा ११ रन जोडिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १११ रन बनाएको थियो । टोलीका लागि मास एलिसाले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ६३ बलमा ५ चौकाको मद्दतले ५६ रन जोडिन् ।
टोलीको सुरुवात भने राम्रो हुन सकेको थिएन । टोलीले मात्र एक रनमा दुई विकेट गुमाएको थियो । २० रन बनाउँदा टोलीका ३ ब्याटर पभेलियन फर्किसकेका थिए । त्यसपछि एलिसाले मारिया इजाटी इस्माइल र नुरु दानिया सुहादासँग मिलेर टोलीको इनिङ्स अगाडि बढाइन् । इस्माइलले १८ तथा सुहादाले १५ रनको योगदान दिइन् ।
नेपालका लागि कविता कुँवरले तीन विकेट लिइन् । पूजा महतो र कविता जोशीले १–१ विकेट हात पारिन् ।







