काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक स्थगित भएको हो ।

एमाले सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । उनले अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिए ।

सांसद राईले आफ्नो मन्तव्य राख्न अस्वीकार गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे । आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहेको छ ।

ADVERTISEMENT

यसअघि छलफलमाा भाग लिँदै रास्वपा सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुनु राम्रो नभएको गुनासो गरे ।

ADVERTISEMENT

सिंहले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको समेत स्पष्ट पारे । सांसद सिंहले संसदीय व्यवस्थामा संसद्‌मा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थिति हुने परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा त्यसो नगरेर संसद्को औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप लगाए । उनले नयाँको नाममा सबै भत्काउने छुट सरकारलाई नभएको पनि बताए ।

सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । उनले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राखिन् ।