काठमाडौं। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने विषयमा फैलाइएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता सूचना पूर्णरूपमा गलत, आधारहीन र भ्रामक भएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको उल्लेख गरिएको छ। साथै नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको पनि बोर्डले जनाएको छ।
नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य यथावत् रहेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरेको छ।
भन्सार विभागद्वारा विकसित उक्त डिजिटल प्रणालीमार्फत अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ। यसले सीमा नाकामा हुने झन्झट कम गर्नुका साथै पर्यटकलाई सहज सेवा उपलब्ध गराउने विश्वास बोर्डले व्यक्त गरेको छ।
पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न आग्रह गर्दै पर्यटन नीति तथा यात्रा व्यवस्थासम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्रै भर पर्न अनुरोध गरेको छ।
नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण तथा स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल–भारतबीचको मैत्री, सहकार्य तथा सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाएको छ।







