काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन भएको छ ।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापनासमेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुने कोइरालाले बताए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको थियो । त्यसअघि आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।





