काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनले आज नदिने भएका छन् । संसद् सचिवालय उच्च स्रोतका अनुसार यसअघि तय गरिएको कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको हो ।
यसअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने संसद् सचिवालयको तयारी थियो । तर, केहीबेरअघि प्रधानमन्त्री सचिवालयबाट आएको सूचनाअनुसार प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा उठेका विषयहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
कार्यसूची संशोधनसँगै आजको बैठकको स्वरूप पनि परिवर्तन भएको छ । प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रतिपक्ष तथा सत्तापक्ष सांसदहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्ने अपेक्षा गरिए पनि अन्तिम समयमा जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो ।
सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सकिएसँगै त्यसलाई आजै पारित गर्ने तयारी अघि बढाएको छ ।








