काठमाडौं । डेढ महिनापछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन २० मिनेट बसेर निस्किएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै एकसाथ संसद् बैठक प्रवेश गरेका बालेन चार पाँचजना सांसदले बोलेलगत्तै बाहिरिएका थिए ।

गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा अमस्मात उपस्थित भएर ‘भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि बालेन विवादमा परेका थिए । उनले दिएका अभिव्यक्तिको अहिले पनि आलोचना भइरहेको छ । विपक्षी दलले बालेनले माफी माग्नुपर्ने कि प्रमाण देखाउन माग गर्दै आएका छन् । बालेन संसदमा उपस्थित हुँदा पनि विपक्षी सांसदहरूले प्रमाण देखाउन चुनौती दिएका थिए । नभएका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन भनिरहेका थिए ।

ADVERTISEMENT

आज पनि अचानक संसदमा उपस्थित भएका बालेन केही समय बस्ने धेरैको अपेक्षा थियो । तर उनी आधा घन्टा पनि नबसी बाहिरिएका छन् । संसदमा प्रधानमन्त्रीको खोजी भइरहँदा उनी एक झल्को दिएर हिँडेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन् । सरकार चौतर्फी घेराबन्दीमा परेपछि बालेन संसद् आएको बताइन्छ । धेरैले रविले बालेनलाई तानेर संसद् ल्याएको टिप्पणी गरिरहेका छन् । संसद् बैठक प्रवेश गर्नुअघि रवि र बालेनबीच सभामुखको कार्यकक्षमा पाँच मिनेट छलफल भएको थियो ।

प्रतिनिधिसभा बैठकमा सांसदले बोलिरहेका बेला सभामुखको आसन छेउबाट हिँडेपछि बालेन र रविमाथि प्रश्न उठेको छ । बालेन र रवि सँगै बैठक कक्षमा पसेका थिए । त्यतिबेला राप्रपा सांसद खुस्बु ओली बोलिरहेकी थिइन् । उक्त कदम संसदीय मर्यादा र नियमावलीविपरित रहेको भन्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरे । सभामुखसँग रुलिङको माग पनि उनले गरेका छन् ।

ADVERTISEMENT