काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं उद्योगपति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्।
दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई उक्त जिम्मेवारी दिएको हो। स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।
चौधरीसँगै भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका मन्त्री बिमल रत्नायके र जापानकी सांसद माइको ताजिमालगायत एसियाका वरिष्ठ राजनीतिक व्यक्तित्व पनि कमिटीमा निर्वाचित भएका छन्।
सम्मेलनलाई सम्बोधन गर्दै चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, विदेशी लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताए।
उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै निजी उद्यमको विस्तारसँगै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र आर्थिक नीतिबारे बोल्दै उनले खुला बजार अर्थतन्त्र तथा उदारीकरणलाई विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे। विगतका कमजोरी स्वीकारेर वर्तमान नेतृत्व अघि बढ्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
चौधरीले नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए। युवाको असन्तुष्टिलाई आश्वासनमा सीमित नराखी ठोस सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनले बताए।
उनले राजनीतिक नेतृत्वको मूल्य शक्तिबाट नभई जनताको विश्वास आर्जन गर्न र भविष्य निर्माण गर्न सक्ने क्षमताबाट मापन हुने धारणा राखे।
यसैगरी, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए।
चौधरीको निर्वाचनले नेपालको राजनीतिक, आर्थिक र जलवायु सरोकारलाई एसियाली क्षेत्रीय मञ्चमा उठाउने अवसर थपिएको अपेक्षा गरिएको छ।










