जनकपुरधाम । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ । यसैक्रममा सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था जाँच्न १७ बगीको भारतीय रेल चलाएर परीक्षण गरिएको छ ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाल र भारत दुवै पक्षको पहलमा रेल परीक्षण गरिएको हो । जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षण अघि बढाइएको उनले बताए ।
प्रस्तावित योजनाअनुसार जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्याउने योजना छ ।
पराजुलीका अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक परीक्षण र अन्य प्रक्रिया अझै जारी छन् । सबै तयारी पूरा भएपछि मात्रै नियमित सेवा सञ्चालनको मिति तय हुनेछ ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच रेल सेवा जोडिए धार्मिक पर्यटन तथा दुई देशबीचको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।










