लुम्बिनी । २५७०औँ बुद्धजयन्तीका अवसरमा १८ वैशाखमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी जाने भएका छन्।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री शाह समारोहमा सहभागी भई पूजाआजामा सहभागिता जनाउने कार्यक्रम तय भए पनि औपचारिक सम्बोधन भने नगर्ने कार्यतालिका रहेको छ। विगतका वर्षहरूमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष भने त्यस्तो कार्यक्रम नराखिएको कोषले जनाएको छ।

कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल (गनेश) र रुपन्देही क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानलगायतको सहभागिता रहनेछ।

कार्यक्रम बिहान ५ बजे सुरु भई ६ बजेसम्म सम्पन्न गर्ने योजना रहेको छ। लुम्बिनी विकास कोषको संरक्षकको रूपमा प्रधानमन्त्री रहने कानुनी व्यवस्था अनुसार उनको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ।