चितवन। चितवनमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार खड्काले वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अगाडि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका खनालको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रारम्भिक अनुसन्धानबाट खड्का र खनालबीच आर्थिक लेनदेन तथा मोबाइलको विषयलाई लिएर विवाद भएको खुलेको प्रहरीले जनाएको छ।अनुसन्धानका क्रममा खनालको मोबाइल खड्काले प्रयोग गर्दै आएको र फिर्ता मागेपछि सामाजिक सञ्जालमार्फत दुवैबीच विवाद चर्किएको खुलेको प्रहरीको भनाइ छ।घटनापछि फरार रहेका खड्कालाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा सम्राट गुरुङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।