काठमाडौं । भारतले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा यस्तो बताएका हुन्।
मिश्रीले भोटेकोशी बाढीले नेपालको पूर्वाधारमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै पुनर्निर्माणका लागि आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावमा भारत विचार गर्न तयार रहेको बताए।
उनले यस विषयमा यसअघि पनि प्रारम्भिक छलफल भइसकेको र नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको प्रक्रिया अघि बढाउँदा थप विवरणसहित छलफल गर्न भारत इच्छुक रहेको स्पष्ट पारे।
मिश्रीले नेपाल र भारतबीचको सम्बन्ध सुखद् र कठिन दुवै परिस्थितिमा एकअर्काको साझेदारका रूपमा रहँदै आएको उल्लेख गरे। भोटेकोशी बाढीपछिको कठिन अवस्थामा भारतले सहयोग उपलब्ध गराएको स्मरण गर्दै उनले आगामी दिनमा पनि दुई देशबीचको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
उनका अनुसार बुधबारको छलफल प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहल र द्विपक्षीय सहकार्यका विषयमा केन्द्रित रहेको थियो।










