काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूलाई बोल्न समय दिइएपछि सुचारु भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।

बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

ADVERTISEMENT

सरकारले ल्याएका अध्यादेश र संसद् नियमावलीका विषयमा विपक्षी दलहरूले आपत्ति जनाएका छन् । विपक्षी दलहरूले एक भएर प्रतिवादमा उत्रिने सहमति गरेका छन् । अध्यादेशको विषयमा विपक्षी दलहरूको मोर्चाबन्दी भएको छ ।

यसअघि कांग्रेसले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको थियो । प्रधानमन्त्री बालेन साह बैठकमा उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो। प्रधानमन्त्री बालेन यसअघिको बैठकमा पनि सहभागी थिएनन्।

ADVERTISEMENT

गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री बालेनसँग कांग्रेसले सुकुम्वासी बस्तीमा डोजर लगाएको विषयमा जवाफ मागिरहेको छ। तर, बैठकमा प्रधानमन्त्री नै नआउने भए पनि सहभागी हुनुको औचित्य नभएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।