काठमाडौं । जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्न अनुमति नदिएपछि व्यवसायी शेखर गोल्छा रिहा हुने भएका छन्। उनलाई आजै छाड्न लागिएको हो।
गोल्छालाई रिहा गर्न लागिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । विमासम्बन्धी मुद्दा बाँकी भएकाले नियन्त्रणमा लिए पनि अदालतले म्याद थप नगरेपछि छोड्ने प्रक्रियामा रहेको सीआइबीले जनाएको छ ।
गोल्छाविरुद्ध धितोपत्र र बिमासम्बन्धी कसूरमा ब्युरोले अनुसन्धान गरिरहेको छ। धितोपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। उनी पाँच लाख धरौटी बुझाएर सोमबार साँझ रिहा भएका थिए। लगत्तै ब्युरोले गोल्छालाई बिमा सम्बन्धी कसूरमा पक्राउ गरेको थियो।
आज जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले गोल्छालाई छोड्ने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छा पक्राउले निजी क्षेत्र आतंकित बनेको छ ।





