काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राखेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबारको बैठकले सर्वोच्च अदालतको फैसलापछि उनलाई सोधेको स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको हो ।

‘कांग्रेस केन्द्रीय अनुशासन समितिको वैशाख २ गतेको निर्णयानुसार पूर्व कावा सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पस्टीकरण सोधिएकोमा सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकाले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ समितिको निर्णयमा भनिएको छ ।

ADVERTISEMENT

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ।

पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको विषयमा थप अनुसन्धान आवश्यक देखिएको भन्दै अनुशासन समितिले तामाङलाई पदबाट निलम्बन गरेको हो।
अनुशासन समितिको स्पष्टीकरण सोध्ने वैशाख ७ गतेको निर्णयअनुसार तामाङले ८ गते जावाफ दिएका थिए। उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो।

ADVERTISEMENT

‘थप अनुसन्धान गरी निर्णय तहमा पुग्नुपर्ने देखिएकाले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने’ अनुशासन समितिको तर्क छ।
तामाङले सभापति गगन थापाले चुनावमा तीन अर्ब उठाएको र अझै दुई अर्ब बाँकी रहेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए ।