काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै पाइने भएको छ । कृष्णभीरको पहिरोका कारण ग्यास बुलेट आउन नसक्दा बढाइएको १०५ रुपैयाँ ३८ पैसा मूल्य घटाएर पुरानै मूल्य कायम गरिएको हो ।
कृष्णभीर हुँदै काठमाडौंमा ग्यास बुलेट आउन थालेसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । नेपाल आयल निगमका अनुसार बुधबार मात्रै २५ वटा ग्यास बुलेट कृष्णभिरबाट पास भएका छन् ।
नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको र मासिक ग्यास आपूर्ति ६० हजार मेट्रिक टनभन्दा बढी पुर्याउन कूटनीतिक पहल भइरहेको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि अभावका कारण उपभोक्ताले लामो समयदेखि लाइन बस्नुपरेको थियो ।
बाटो खुलेसँगै अधिकांश ग्यास उद्योगबाट रिफिलिङ गरी बजारमा आपूर्ति बढ्ने जनाइएको छ ।






