काठमाडौं । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्त प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्थाअनुसार भाडा बढाइएको विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा बुधबारदेखि नै लागू हुने गरी वृद्धि गरिएको हो।
डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसामा यही वैशाख ३ मा प्रतिलिटर ५५ रुपैयाँ बढेर औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा कायम हुन आएको र यसरी कायम भएको मूल्यवृद्धि गत चैत २५ मा भएको भाडा समायोजनको समयमा रहेको डिजेलको औसत बजार मूल्यभन्दा ३०.४१ प्रतिशतले वृद्धि भएकोले भाडा बढाउनुपरेको विभागले जनाएको छ ।
भाडा बढाउन वैशाख १२ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई सैद्धान्तिक सहमति दिएको थियो।







