काठमाडौं। काठमाडौं उपत्यकामा अब एउटै ट्राफिक कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिने भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले आइतबार आयोजित कार्यक्रममा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध कडा कदम चाल्न लागिएको जानकारी दिएका हुन्।उनले भने, “पटक–पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ। हामीले यो प्रक्रिया अघि बढाइसकेका छौँ।”

ट्राफिक प्रहरीका अनुसार हालसम्म ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ। सुरुआती चरणमा उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न प्रस्ताव गरिएको छ।कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्म ३ लाख ७३ हजार ५६२ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।

उपत्यकामा २० लाखभन्दा बढी सवारी दर्ता

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म २० लाख १८ हजार ४३४ सवारीसाधन यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता भएका छन्।जसमध्ये १६ लाख ५६ हजार ४८ दुईपांग्रे, ४६ हजार ८४४ यात्रुवाहक सवारी, २ लाख ९६ हजार ८६७ चारपांग्रे तथा १८ हजार ६७५ विद्युतीय सवारी रहेका छन्।सवारीसाधनको संख्या तीव्र रूपमा बढेसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको ट्राफिक प्रहरीको भनाइ छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १ हजार ११३ जनाको दरबन्दी रहे पनि जनशक्ति अभावका कारण थप ४०० जना काजमा खटाइएको छ।काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ट्राफिक प्रहरीका ७७ वटा युनिट सञ्चालनमा छन्। एक युनिटले औसतमा २६ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ।

ADVERTISEMENT

दैनिक १० घण्टासम्म ड्युटी

एसएसपी अधिकारीका अनुसार ट्राफिक प्रहरी दैनिक १० घण्टासम्म ड्युटीमा खटिने गरेका छन्।उपत्यकाका २८ स्थानमा २४सै घण्टा, ३२६ स्थानमा दैनिक चेकजाँच, ‘पिक आवर’मा ९७ स्थानमा थप ड्युटी तथा ६२ जना ट्राफिक प्रहरी क्यूआरटी टोलीमा परिचालित छन्।त्यस्तै ५६ स्थानमा रात्रिकालीन चेकिङ र ३६ स्थानमा आकस्मिक चेकिङ पोस्ट सञ्चालनमा छन्।

ADVERTISEMENT

दुर्घटना र चोरी बढ्दो

चालु आर्थिक वर्षको चैतसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन्।यी दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार मृत्यु हुनेमध्ये १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना छन्।यसैबीच सवारी चोरीका घटना पनि बढिरहेका छन्। ट्राफिक प्रहरीले आइतबार मात्रै ६५ वटा चोरी भएका दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको छ।चालु आर्थिक वर्षको चैतसम्म ५३४ वटा दुईपांग्रे सवारीसाधन फेला पारिएको छ।

ADVERTISEMENT

उक्त अवधिमा उपत्यकाबाट सवारी हराएको भन्दै २ हजार २६ जनाले निवेदन दिएको ट्राफिक प्रहरीले जनाएको छ।