काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बुधबार सिंहदरबारमा बस्दै छ । रास्वपा सभापति रवि लामिछाने संसदीय दलको कार्यालयमा पुग्ने सचिवालयले जनाएको छ ।
छलफलमा सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा सभापति लामिछानेले सांसदहरूको राय लिने छन् । साथै अध्यादेशको आवश्यकताबारे जानकारी गराउने जनाइएको छ ।
सरकारले सोमबार मात्रै संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । रास्वपाले भने फास्ट ट्याकमार्फत केही कानुन बनाउनुपर्ने अवस्था आएकाले अध्यादेश ल्याएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संसदीय दलको बैठक बोलाएको छ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि कांग्रेसले विपक्षी दलका संसदीय दलको बैठक बोलाएको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।
सरकारले दुई अध्यादेश ल्याएपछि कांग्रेससँगै एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो ।







