काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इरान द्वन्द्वका विषयमा जर्मनीका चान्सलर फ्रेडरिक मर्जले कडा टिप्पणी गर्दै अमेरिका इरानी शासनबाट “अपमानित” भइरहेको बताएका छन्। सोमबार जर्मनीको मार्सबर्गमा विद्यार्थीहरूसँग सम्बोधन गर्दै उनले इरानको वार्ता रणनीतिलाई लक्षित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार इरान वार्तामा नआउने रणनीतिमा दक्ष रहेको छ र अमेरिकालाई वार्ताका लागि इस्लामाबादसम्म पुर्याएर पनि कुनै परिणामबिना फर्काएको छ। “इरानी नेतृत्व, विशेषगरी तथाकथित रिभोलुसनरी गार्ड्सले एउटा सम्पूर्ण राष्ट्रलाई अपमानित गरिरहेका छन्,” उनले भने, “यो अवस्था चाँडै अन्त्य होस् भन्ने आशा छ।”
मर्जको यो अभिव्यक्ति अप्रत्याशित मानिए पनि यसले युरोपेली नेताहरूमा बढ्दो असन्तुष्टि र चिन्तालाई झल्काउँछ। विशेषगरी, यो द्वन्द्वले जर्मनीको कमजोर बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्ने प्रयासमा बाधा पुर्याएको सन्दर्भमा उनको असन्तुष्टि देखिएको विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई युद्धमा सक्रिय सहभागिता नदेखाएको भन्दै आलोचना गर्दै आएका छन्। तर युरोपेली नेताहरू भने यो युद्ध आफूहरूमाथि थोपारिएको “चयनको युद्ध” भएको ठान्छन्, जसबारे उनीहरूलाई पूर्व जानकारी वा परामर्शसमेत नगरिएको उनीहरूको गुनासो छ।
युरोप अहिले आफ्नो छेउमै युक्रेनसँग चार वर्षदेखि जारी युद्धको सामना गरिरहेको अवस्थामा अर्को दीर्घकालीन द्वन्द्वमा फस्न नचाहेको स्पष्ट देखिन्छ। साथै, इरानी शासनको स्थायित्व र शक्तिलाई अमेरिकाले कम आँकेको हुनसक्ने आशंका पनि युरोपेली वृत्तमा बढ्दै गएको छ।

चान्सलर मर्जले विगतका युद्धहरू स्मरण गर्दै चेतावनी दिए, “यस्ता द्वन्द्वमा प्रवेश गर्नु मात्र होइन, बाहिर निस्कनु पनि चुनौतीपूर्ण हुन्छ। हामीले अफगानिस्तानमा २० वर्षसम्म यो पीडादायी रूपमा अनुभव गर्यौं, इराकमा पनि त्यस्तै भयो।”
यस्तै चिन्ता अन्य युरोपेली नेताहरूले पनि व्यक्त गरेका छन्। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले आफूहरू “युद्धमा तानिन नचाहेको” बताएका छन् भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि युद्धप्रति असन्तुष्टि जनाएका छन्। जर्मनीका रक्षा मन्त्रीले यस अवस्थालाई “विपत्ति” को संज्ञा दिएका छन्।
पूर्व नाटो प्रमुख तथा हाल नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गले युद्धको अनिश्चितता र सम्भावित विस्तारप्रति गम्भीर चेतावनी दिएका छन्। “युद्धहरू स्वभावतः खतरनाक हुन्छन्। अहिले इरान र मध्यपूर्वमा युद्ध छ, युरोपमा युक्रेनसँग पूर्ण युद्ध छ। यस्तो अवस्थामा द्वन्द्व कहिले र कति फैलिन्छ भन्न सकिँदैन,” उनले भने।
उनका अनुसार यदि द्वन्द्व विस्तार भयो भने त्यसले मानविय संकटसँगै विश्व अर्थतन्त्रमा अहिलेसम्मको भन्दा ठूलो असर पार्न सक्छ।
इरान–अमेरिका द्वन्द्वले विशेषगरी युरोपेली संघ र बेलायतजस्ता ऊर्जा आयातमा निर्भर राष्ट्रहरूलाई गम्भीर असर पारेको छ। रुस–युक्रेन युद्धपछि रुसबाट तेल तथा ग्यास आयात बन्द भएपछि युरोपले वैकल्पिक स्रोत खोज्नुपरेको थियो। अहिले इरान द्वन्द्वका कारण ती स्रोतहरूमा समेत दबाब बढेको छ।
ऊर्जा आपूर्तिमा बढ्दो प्रतिस्पर्धा र मागका कारण मूल्यमा तीव्र वृद्धि भएको छ। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेयर लेयेनका अनुसार इरान युद्ध सुरु भएयता युरोपेली संघले तेल र ग्यास आयातमा थप २५ अर्ब युरो खर्च गर्नुपरेको छ।
यसैबीच, होर्मुज जलडमरूमध्यमा जारी अवरोधप्रति फ्रान्सका राष्ट्रपति म्याक्रोनले अमेरिका र इरान दुवैलाई जिम्मेवार ठहर गर्दै “तनाव कम गर्न” आह्वान गरेका छन्।
कूटनीतिक प्रयासहरू भने अझै ठप्पजस्तै देखिएका छन्। गत साता पाकिस्तानको इस्लामाबादमा हुने भनिएको वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तिम समयमा रद्द गरेका थिए। उनले “हामीसँग सबै विकल्प छन्” भन्दै इरानले चाहे वार्ताका लागि आफैं अघि आउनुपर्ने बताएका छन्।
यसअघि उपराष्ट्रपति जेडी भान्स नेतृत्वमा भएका वार्ताहरू पनि निष्कर्षविहीन भएका थिए।
उता, इरानले अमेरिका आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाए र युद्ध अन्त्य गरेमा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने प्रस्ताव गरेको छ। यस प्रस्तावमा आणविक कार्यक्रमसम्बन्धी वार्ता पछि सार्ने सुझावसमेत समावेश छ।
तर अमेरिकी पक्ष उक्त प्रस्तावप्रति सन्तुष्ट देखिएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले छिट्टै प्रतिप्रस्ताव ल्याउने तयारी गरिरहेको छ।
अन्तरास्ट्रिय विश्लेषकहरूका अनुसार यदि वार्ता चाँडै अगाडि बढ्न सकेन भने मध्यपूर्वमा अर्को “दीर्घकालीन युद्ध” को खतरा बढ्दै जानेछ, जसले विश्व राजनीति, ऊर्जा सुरक्षा र अर्थतन्त्रमा गहिरो असर पार्न सक्छ।








