काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९१ अंक घटेर २८०७.३१ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार पाँच अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको एक करोड ३० लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ ।

सोलु हाइड्रोपावर कम्पनीको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँ र नेसनल हाइड्रोपावरको करिब साढे २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

मंगलबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ । एसियन हाइड्रोपावरको सेयरमूल्य करिब ११ प्रतिशत र होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ।