काठमाडौं । सत्तारुढ रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा नौवटा एजेन्डा तय भएको छ । तर पछिल्लो समय गृहमन्त्री सुधन गुरुङको बिचौलिया दीपक भट्टसँग जोडिएर आएका समाचारका विषयले रास्वपामा तरंग सिर्जना गरेको छ ।

आइतबारदेखि सम्पत्ति शुद्धीकरण अभियोगमा थुनामा रहेका व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री गुरुङको २५–२५ लाखको सेयर रहेको र त्यो सेयरको स्रोत खोजिनुपर्ने भन्दै मिडियो र सामाजिक सञ्जालमा व्यापक बनेपछि रास्वपाको केन्द्रीय समिति बैठकमा यो एजेन्डा हुने भएको हो । तर रास्वपाले यसबारे केही भनेको छैन ।

आफूविरुद्ध समाचार आएपछि गृहमन्त्री गुरुङ निकै दबाबमा परेका छन् । उनी रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार राति नै उनको निवास बूढानीलकण्ठ पुगेका थिए । गुरुङ आइतबार बेलुका करिब ८ बजे लामिछानेलाई भेट्न पुगेका स्रोतले जनाएको छ ।

आफ्नै गृहमन्त्रीविरुद्ध अकुत सम्पत्तिको विषयमा समाचार आए पनि प्रधानमन्त्री वालेन्द्र शाह मौन छन् । तर रास्वपा सभापति लामिछानेले भने गुरुङलाई हटाएर आफूले चाहेको दीपक बोहरा या अन्य कुनै एक सांसदलाई गृहमन्त्री बनाउने गृहकार्य सुरु भएको बताइन्छ ।