काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गृह मन्त्रालय आफैंसँग भएका छन् । सुधन गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा कसैलाई नियुक्त नगर्ने प्रधानमन्त्री बालेनको तयारी छ ।
स्रोतका अनुसार हामी नेपालीका संयोजकसमेत रहेका सुधन गुरुङ जोडिएको विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने प्रधानमन्त्री बालेनको तयारी छ । समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय आफैंसँग राख्ने र दोषी नदेखिए पुनः गुरुङलाई नै गृह मन्त्रालयको जिम्मा दिने प्रधानमन्त्रीको योजना रहेको बताइन्छ ।
प्रधानमन्त्री बालेनले आफ्नो योजना रास्वपा सभापति रवि लामिछानेलाई पनि सुनाइसकेका छन् । रास्वपा सभापति लामिछानेले पार्टी चलाउने र बालेनले सरकार चलाउने समझादारी छ । एकअर्काको काममा हस्तक्षेप नगर्ने नीति दुवैले लिएका छन् ।
त्यही भएर प्रधानमन्त्री बालेनले एक महिनाभित्र अनुसन्धान प्रतिवेदन तयार गर्न लगाएर बिचौलिया दीपक भट्टसँग जोडिएका गुरुङका विषयमा अध्ययन हुनेछ । यदि दोषी नपाइए विगतमा अर्थमन्त्री पदबाट राजीनामा दिएर पुनः पदमा फर्केका जनार्दन शर्मा जस्तै सुधनलाई नै गृहमा फर्काउने बालेनको रणनीति रहेको स्रोतले बतायो ।






