काठमाडौं । नेपाल राष्ट्र बैंकले बासेल–३ लाई पुर्णरुपमा कार्यान्वयनमा ल्याएसँगैै बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी उल्लेख्यरुपमा वृद्धी भएको छ । राष्ट्र बैंकका तत्कालीन गर्भनर डा. चिरञ्जीवी नेपालले जोखिम मोलेर भएपनि बैंकिङ क्षेत्रलाई सवल, सक्षम, प्रभावकारी बनाउने उदेश्यसहित बासेल–३ लाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन बैंकिङ क्षेत्रलाई निर्देशन दिएका थिए ।
बासेल–३ कार्यान्वयनमा आउनु अघि बाँणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी दुई अर्ब, राष्ट्रियस्तरका बिकास बैंकहरुको न्युनतम चुक्ता पुँजी ६४ करोड र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरुको चुक्ता पुँजी २० करोड रुपैंयाँ मात्र हुने व्यवस्था रहेको थियो ।

तत्कालीन गर्भनर डा. नेपालले यो व्यवस्थामा परिवर्तन ल्याउँदै बाँणिज्य बैंकहरुलाई न्युनतम आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुलाई दुई अर्ब ५० करोड र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरुलाई न्युनतम ८० करोड रुपैंयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएका थिए । चुक्ता पुँजी बढाउनको लागि उनले तत्कालीन समयमा बोनस शेयर, हकप्रद शेयर, मर्जर र प्राप्तीलाई बिकल्पकोरुपमा अघि सारेका थिए । तत्कालीन समयको सोही निर्देशन र बिकल्पका कारण अहिले बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी बढेर चार खर्ब ६७ अर्ब ३२ करोड ८० लाख रुपैंैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरुले यो चुक्ता पुँजी कायम गरेका हुन् ।
बैंकिङ क्षेत्रमा हाल कायम रहेको यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ अर्ब ९५ करोड ७० लाख रुपैंयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैंयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बाँणिज्य बैंकहरुको मात्र कुल चुक्ता पुँजी ४ खर्ब ६ अर्ब २२ करोड ८० लाख रुपैंयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ९० करोड १० लाख रुपैंयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बाँणिज्य बैंकहरुको कुल चुुक्ता पुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।
बिकास बैंकहरुको मात्र चुक्ता पुँजी भने चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा ४५ अर्ब ७८ करोड ३० लाख रुपैंयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब एक करोड रुपैंयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बिकास बैंकहरुको यस्तो चुक्ता पुँजी ४२ अर्ब ७७ करोड ३० लाख रुपैंयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा १५ अर्ब ३१ करोड ६० लाख रुपैंयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार करोड ५० लाख रुपैंयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब २७ करोड १० लाख रुपैंयाँ रहेको थियो ।
बैंक तथा फाईनान्स कम्पनीहरुको हाल कायम रहेको चुक्ता पुँजी (रकम रु १० लाखमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)






