काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.६४ अंक घटेर २५९५.२४ विन्दुमा झरेको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा पाँच अर्ब १५ करोड सात लाख ६८ हजार रुपैयाँबराबरको एक करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको करिब साढे २२ करोड र यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आजदेखि कारोबारमा आएको माबिलुङ इनर्जी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेयरमूल्य ३१ रुपैयाँ ७० पैसा बढेर ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।