मुम्बई। भारतको व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ एयर इन्डिया र इन्डिगोका दुई विमान एक आपसमा ठोक्किएका छन् ।
विज्ञप्ति अनुसार एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ पार्किङमा रहेको बेला इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेको क्रममा दुवै विमानको पखेटा आपसमा ठोक्किएको हो । यो घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगेको छ ।
घटनापछि सबै यात्रु सुरक्षित बाहिर निस्काइएको थियो भने उडान रोकिएको थियो । दुवै विमान प्राविधिक जाँचका लागि रोकिएको छ । भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) मुम्बई कार्यालयले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
एयर इन्डियाका प्रवक्ताका अनुसार उक्त फ्लाइट मुम्बईबाट तमिलनाडुको कोयम्बटूर जाँदै थियो । इन्डिगोको विमान पनि सामान्य पार्किङका क्रममा ठोक्किएको भएतापनि यात्रु सबै सुरक्षित रहेका छन् । दुवै एयरलाइन्सले प्राविधिक जाँच भइरहेको पुष्टि गर्दै थप विवरण सार्वजनिक गर्ने तयारीमा रहेको जनाएका छन् ।







