काठमाडौं । दसैँ, तिहार तथा छठजस्ता चाडपर्वका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। चाडपर्वमा वित्तीय कारोबार बढ्ने भएकाले ठगहरूले विभिन्न प्रलोभन र बहानामा सर्वसाधारणलाई निशाना बनाउन सक्ने इकाइले जनाएको छ।

बैंकिङ कारोबारको विश्लेषणका क्रममा अनलाइन ठगीका घटना बढेको उल्लेख गर्दै इकाइले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने सम्भावित ठगीप्रति सचेत रहन आग्रह गरेको हो। इकाइले मोबाइलमा आउने एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी), बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन सुझाव दिएको छ।

ADVERTISEMENT

इकाइका अनुसार दसैँ धमाका, तिहार–छठ बम्पर उपहार वा आकर्षक पुरस्कार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्छ। यस्ता प्रलोभनमा परेर रकम पठाउँदा ठगीमा पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने सूचनामा उल्लेख छ।

ADVERTISEMENT

त्यस्तै, बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने भन्दै ग्राहकलाई डर देखाउने र पासवर्ड, ओटीपी तथा व्यक्तिगत विवरण चोरी गर्ने जोखिम पनि रहेको इकाइले जनाएको छ। यस्ता विवरण प्रयोग गरी बैंक तथा वित्तीय संस्थामा रहेको रकम ठगी हुन सक्ने भएकाले वेबसाइटको आधिकारिकता जाँच गर्न आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट समेत सावधान रहन इकाइले सुझाएको छ।

ADVERTISEMENT

अरू व्यक्तिको नागरिकता, तस्बिर वा किर्ते कागजात प्रयोग गरी नक्कली खाता खोल्ने र त्यसलाई आपराधिक गतिविधिमा प्रयोग गर्ने जोखिमसमेत औँल्याइएको छ।

इकाइले निःशुल्क रिचार्ज, चिट्ठा परेको वा उपहार जितेको भन्दै पठाइने शङ्कास्पद लिंक नखोल्न आग्रह गरेको छ। अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट प्रयोग गर्न तथा सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न पनि सुझाव दिइएको छ। डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्नुपर्ने सूचनामा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई पनि डिजिटल माध्यमबाट खाता खोल्दा ग्राहकको पहिचानसम्बन्धी विवरण प्रमाणीकरण गर्न, एउटै ठेगाना वा मोबाइल नम्बर प्रयोग गरी फरक–फरक नाममा खोलिएका खाताको निगरानी बढाउन र शङ्कास्पद कारोबार पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन इकाइले आग्रह गरेको छ।

साथै, कर्मचारीलाई सम्भावित ठगीका ढाँचा पहिचान गर्ने तालिम दिन र एसएमएस तथा सामाजिक सञ्जालमार्फत ग्राहकलाई सचेत गराउन पनि सुझाव दिइएको छ।

अनलाइन ठगीमा परेको शङ्का लागेमा ढिलाइ नगरी सम्बन्धित बैंक, वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट रोक्का गराउन इकाइले आग्रह गरेको छ। आवश्यक जानकारी नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा समेत गराउनुपर्ने सूचनामा उल्लेख छ।