काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूमा निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा विस्तार भने अपेक्षाकृत सुस्त देखिएको छ।नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ। सोही अवधिमा कर्जा भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले मात्रै बढेको छ।

गत असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको कुल निक्षेप चैत मसान्तमा ९.१४ प्रतिशतले वृद्धि भई ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ५० खर्ब २५ अर्ब २१ करोड रुपैयाँ रहेको कर्जा प्रवाह ५.५६ प्रतिशतले बढेर ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो। तर हालसम्मको तथ्यांकले उक्त लक्ष्यभन्दा निकै कम प्रगति भएको देखाएको छ।विस्तृत मुद्रा प्रदायमा करिब १३ प्रतिशत वृद्धि हुने अनुमान गरिए पनि निक्षेप वृद्धिदरले मात्रै यसको दिशा निर्धारण गर्ने भएकाले हालको अवस्था मिश्रित देखिएको छ। चैतसम्म निक्षेप ९ प्रतिशतभन्दा माथि पुगे पनि कर्जा वृद्धि साढे ५ प्रतिशतमै सीमित रहेको छ।

चैत महिनामा मात्रै वाणिज्य बैंकहरूले १ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा भने ७७ अर्ब ९९ करोड रुपैयाँ मात्रै प्रवाह गरेका छन्।बैंकगत रूपमा हेर्दा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सबैभन्दा बढी, करिब १ खर्ब रुपैयाँले बढेको छ। ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकको निक्षेप पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।

कर्जा विस्तारतर्फ भने एभरेष्ट बैंक आक्रामक देखिएको छ, जसले ९ महिनामा ३९ अर्बभन्दा बढी कर्जा विस्तार गरेको छ। प्रतिशतका आधारमा माछापुच्छ्रे बैंक अगाडि रहेको छ।तर, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एशिया र प्रभु बैंकको कर्जा प्रवाह भने घटेको देखिएको छ।

समग्रमा बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा विस्तार सुस्त रहँदा अर्थतन्त्रमा अपेक्षित गतिशीलता आउन नसकेको देखिन्छ।