काठमाडौं। बैंक तथा फाइनान्स कम्पनीहरू थप १३ खर्ब ६८ अर्ब रुपैयाँ हाराहारीमा थप कर्जा दिन सक्ने अवस्थामा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक असारको दोस्रो साता अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाहसम्बन्धी तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका १७ वटा विकास बैंक तथा १७ वटा फाइनान्स कम्पनी सहितका ५४ वटा संस्थाको कुल निक्षेप रकम ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५९ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूमा निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७२ दशमलव ४५ प्रतिशत रहेको छ। राष्ट्र बैंकले तोकेको अधिकतम सीडी रेसियो ९० प्रतिशत रहेको छ। सोअनुसार बैंकिङ क्षेत्र अझै थप १२ प्रतिशत, अर्थात् १३ खर्ब ६८ अर्ब रुपैयाँ हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा देखिएको हो। वाणिज्य बैंकहरूले मात्र यही असारको दोस्रो सातासम्ममा कुल ७३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरूमा हाल कायम रहेको ७२ दशमलव ४५ प्रतिशत को सीडी रेसियो र राष्ट्र बैंकको नियमअनुसार अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर कर्जा दिन सक्ने व्यवस्था अनुसार वाणिज्य बैंकहरू पनि अहिले थप १३ खर्ब रुपैयाँ हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा रहेका छन्।
राष्ट्र बैंकका अनुसार यही असारको दोस्रो सातासम्ममा विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि कुल ७ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल ६ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियोको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न सक्ने र हाल कायम रहेको ७२ दशमलव ४५ प्रतिशत सीडी रेसियोलाई आधार मान्दा झण्डै ५४ अर्ब रुपैयाँ हाराहारीमा थप कर्जा दिन सक्ने अवस्थामा विकास बैंक तथा फाइनान्स कम्पनीहरू रहेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता बढेकै कारण लगानीयोग्य रकम थुप्रिएको छ। सोही कारण पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरूबीच अल्पकालीन अवधिका लागि हुने अन्तरबैंक कारोबारको ब्याजदर पनि दुई दशमलव ७५ प्रतिशत मा सीमित रहेको छ। अन्तरबैंक कारोबारअन्तर्गत २८ दिने अवधिको ब्याजदर एक दशमलव ४० प्रतिशत, ९१ दिने अवधिको ब्याजदर दुई दशमलव २५ प्रतिशत, १८२ दिने अवधिको ब्याजदर दुई दशमलव ६५ प्रतिशत र ३६४ दिने अवधिको ब्याजदर दुई दशमलव ३६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप रकम, कर्जा रकम र थप कर्जा दिन सक्ने क्षमता

(श्रोतःराष्ट्र बैंकको तथ्यांकमा आधारित)






