काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा युएई जानेको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्ने कर्मचारीलाई कारबाही प्रक्रिया थालेको छ ।
युएई प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘काम गर्न सख्त मनाही’ लेखेको पाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारवाहीका लागि आन्तरिक छानवीनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारवाहीका लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ,’ विभागका निर्देशक टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले आजको दिनमा धेरै नेपालीहरुको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यतासमेत भएको यथार्थ सबैलाई अवगत नै रहेको पनि प्रस्ट पारेको छ।
‘नागरिकको यही वाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फवाट सक्दो प्रयास गरिरहेको छ,’ विभागले भनेको छ, ‘अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको २०८२ काित्कत १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको छ।’






