काठमाडौँ । अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अधिकृत यज्ञराज अर्यालसहित सात जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार प्रमाण बुझ्ने आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर गरेको थियो। मुख्य प्रतिवादी बनाइएका भट्टराईविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ। कार्यालय प्रमुखको हैसियतमा थप तीन वर्ष कैद सजाय हुनुपर्ने मागसमेत गरिएको छ।
यज्ञराज अर्यालविरुद्ध ८ लाख रुपैयाँ बिगो, सोही बराबर जरिवाना तथा २ देखि ४ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ। मतियारका रूपमा प्रतिवादी बनाइएका ग्रिनलाइन होलिडेज ट्राभलका प्रमुख बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्सका सञ्चालक राम खड्काविरुद्ध जनही ३० लाख २० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना तथा ४ देखि ६ वर्षसम्म कैद सजाय माग गरिएको छ।
फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना तथा २ देखि ४ वर्षसम्म कैद सजायको मागदाबी छ।
त्यस्तै, बिचौलियाका रूपमा प्रतिवादी बनाइएका कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध जनही ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूविरुद्ध बिगो बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।
भिजिट भिसा प्रकरणमा गिरोहबाट प्राप्त रकम शुद्धीकरण गरेको आरोपमा अख्तियारले सहसचिव भट्टराई, पौडेल र सुवेदीविरुद्ध छुट्टै सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ।
उक्त मुद्दामा जनही १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो, सोही बराबर जरिवाना तथा ८ देखि १० वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ। भट्टराईले गैरकानुनी रूपमा आर्जित सम्पत्ति पौडेल र सुवेदीमार्फत परिचालन गरी शुद्धीकरण गरेको अभियोग अख्तियारले लगाएको छ।





