काठमाडौं । निर्जीवन र जीवन बीमा कम्पनी सहितका सञ्चालनमा रहेका २८ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा कुल एक खर्ब ६० अर्ब २१ करोड ६४ लाख ५२ हजार रुपैंयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेकाछन् । बीमा प्राधिकरणका अनुसार यो रकम गत आवको सोही अवधिको तुलनामा १६ दशमलव छ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १४ वटा जीवन तथा १४ वटा निर्जीवन सहितका २८ वटा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन रकम एक खर्ब ३८ अर्ब चार करोड ४४ लाख ४१ हजार रुपैंयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरुले मात्र चालु आवको फागुन मसान्तसम्ममा एक खर्ब २७ अर्ब ६८ करोड ८१ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब नौ अर्ब ४३ करोड ५९ लाख ७८ हजार रुपैंयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आवको फागुन मसान्तसम्ममा कुल ३२ अर्ब ५२ करोड ८२ लाख ८१ हजार रुपैयाँ कुल निर्जीवन बीमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैंयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालु आवको फागुन मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्यरुपमा बढेपनि निर्जीवन बीमा कम्पनीहरुमा कुल बीमालेखको संख्या तुलनात्मकरुपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरुमा चालु आवको फागुन मसान्तसम्ममा एक करोड ६२ लाख ५९ हजार आठ सय ३२ वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १४ दशमलव २० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुमा कुल एक करोड ४२ लाख ३८ हजार छ सय ४८ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमा कुल जारी बीमालेखको संख्या भने ४७ लाख ९७ हजार नौं सय ७५ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २५ दशमलव १३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुमा जारी बीमालेखको संख्या ३८ लाख ३४ हजार पाँच सय ४४ रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने चालु आवको फागुन मसान्तसम्ममा २१ लाख ६८ हजार ४५ वटा पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा चार दशमलव ५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या २० लाख ७३ हजार चार सय ६३ रहेको थियो ।

प्राधिकरणका अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या भने ४९ दशमलव ९२ प्रतिशत पुगेको छ । यो संख्या म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित हो, प्राधिकरणले भनेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनशंख्या ४४ दशमलव १७ प्रतिशत रहेको थियो ।

ADVERTISEMENT

(श्रोत:नेपाल बीमा प्राधिकरण)