नेपालगञ्ज। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ।
कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो परिवेशअनुसार कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्। कर्मचारीको क्षमता र दक्षता अभिवृद्धिमा कम्पनीले लगानी गर्ने तथा यसले व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।
कार्यसम्पादनका आधारमा छनोट भएका ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्राप्त गर्ने शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्ष सिंहले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिन्।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्यशालामा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिए। प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलापसमेत आयोजना गरिएको थियो। सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए।

त्यस्तै विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन, कर्मचारीबीच परीक्षा तथा अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो। विजेता टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो।
कम्पनीका अनुसार चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।








