काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ए’ श्रेणीमा यथावत् कायम गरिएको छ। साथै, यसअघि कम्पनीमाथि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ पनि हटाइएको छ।
साख मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, दाबी व्यवस्थापन क्षमता, तरलता र पुँजीगत अवस्थाको मूल्याङ्कनपछि कम्पनीलाई ‘ए’ श्रेणीमै कायम राख्ने निर्णय गरेको हो। इक्रा नेपालका अनुसार यस श्रेणीमा रहेका संस्थाहरूले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता राख्ने, कम साख जोखिम भएका र समग्रमा वित्तीय रूपमा विश्वसनीय मानिन्छन्।
इक्रा नेपालले कम्पनीमाथिको नकारात्मक निगरानी हटाउनुको मुख्य कारण ठूलो परिमाणका बीमा दाबी व्यवस्थापन गर्न कम्पनीले देखाएको क्षमता रहेको जनाएको छ। सन् २०२५ को सेप्टेम्बरमा भएको ठूलो दङ्गापछि कम्पनीमा उल्लेखनीय परिमाणमा बीमा दाबी परेको भए पनि त्यसको वित्तीय भार व्यवस्थापन गर्न कम्पनी सक्षम रहेको निष्कर्ष मूल्याङ्कनले निकालेको हो।
मध्य अप्रिल २०२६ सम्म कम्पनीमा दङ्गासम्बन्धी करिब ९२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो। त्यसमध्ये कम्पनीले आफैंले वहन गर्नुपर्ने हिस्सा करिब २६ करोड १० लाख रुपैयाँ रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। पुनर्बीमाको प्रभावकारी व्यवस्था, बलियो खुद सम्पत्ति र पर्याप्त तरलताका कारण ती दाबीको व्यवस्थापन सहज रूपमा गर्न सकिने देखिएको छ। यद्यपि, ती दाबीका कारण चालु वर्षको नाफामा भने केही असर पर्ने सम्भावना औँल्याइएको छ।
मूल्याङ्कनका क्रममा कम्पनीको लामो सञ्चालन अनुभव, निर्जीवन बीमा क्षेत्रमा स्थापित बजार उपस्थिति, सन्तोषजनक दायित्व बहन क्षमता, पर्याप्त तरलता तथा अनुभवी व्यवस्थापन टोलीलाई पनि सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।
कम्पनीको स्वामित्व संरचनालाई समेत बलियो मानिएको छ। श्रीलङ्कास्थित सेलिन्को होल्डिङ्स संस्थागत प्रवर्द्धकका रूपमा रहेको, उक्त समूहको बीमा क्षेत्रमा लामो अनुभव रहेको तथा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व रहेको तथ्यले कम्पनीको संस्थागत आधारलाई थप मजबुत बनाएको इक्रा नेपालको भनाइ छ।
इक्रा नेपालले नेपालमा बीमा पहुँच अझै न्यून रहेकाले यस क्षेत्रमा विस्तारको पर्याप्त सम्भावना रहेको र सरकारले पनि बीमा क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको अवस्थामा कम्पनी तथा समग्र बीमा उद्योगको दीर्घकालीन सम्भावना सकारात्मक रहेको उल्लेख गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २०७९ चैतमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा गाभिएपछि स्थापना भएको हो। २०८३ असार मध्यसम्म कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।





