काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न विभागका लागि ४२ जना कर्मचारी माग गर्दै रोजगारीको अवसर खुलाएको छ। कम्पनीले सूचना जारी गर्दै बजार व्यवस्थापन, दाबी व्यवस्थापन, सूचना प्रविधि, ब्रान्डिङ तथा एक्चुरियल विश्लेषणलगायतका पदमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
कम्पनीले जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट (मार्केटिङ) पदमा ३० जना र जुनियर अफिसर (मार्केटिङ) पदमा ५ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।
सिभिल इन्जिनियरिङ (दाबी) तर्फ अफिसरदेखि डेपुटी म्यानेजर तहमा ३ जना, मेडिकल हेल्थ (दाबी) तर्फ जुनियर अफिसरदेखि सिनियर अफिसर तहमा १ जना, एक्चुरियल विश्लेषक पदमा १ जना, सूचना प्रविधि तर्फ जुनियर असिस्टेन्ट पदमा १ जना तथा ब्रान्डिङ तर्फ सिनियर असिस्टेन्टदेखि जुनियर अफिसर तहमा १ जना कर्मचारी माग गरिएको छ। यी सबै पदका लागि कम्पनीको काठमाडौंको अनामनगरस्थित प्रधान कार्यालय कार्यस्थल रहनेछ।
मार्केटिङ पदका लागि स्नातक उत्तीर्ण, दुईपाङ्ग्रे सवारी साधन र वैध चालक अनुमतिपत्र अनिवार्य गरिएको छ। बीमा, बैंकिङ, द्रुत उपभोग्य वस्तु वा बहुराष्ट्रिय कम्पनीमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
सिभिल इन्जिनियरिङ पदका लागि सिभिल इन्जिनियरिङमा स्नातकसहित सडक, पुल, भवन, जलविद्युत् वा अन्य पूर्वाधार आयोजनामा तीनदेखि पाँच वर्ष कार्य अनुभव आवश्यक छ। मेडिकल हेल्थतर्फ फार्मेसी, नर्सिङ, प्याथोलोजी, एमबीबीएस वा सम्बन्धित विषयमा स्नातक र कम्तीमा तीन वर्षको अनुभव मागिएको छ।
एक्चुरियल विश्लेषक पदका लागि एक्चुरियल विज्ञान, गणित, तथ्याङ्क, अर्थशास्त्र, वित्त वा सम्बन्धित विषय अध्ययनरत वा उत्तीर्ण उम्मेदवारले आवेदन दिन सक्नेछन्। सम्बन्धित व्यावसायिक परीक्षाका विभिन्न तह उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
त्यस्तै, सूचना प्रविधि पदका लागि सूचना प्रविधि, कम्प्युटर विज्ञान वा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गरेका उम्मेदवार तथा ब्रान्डिङ पदका लागि मार्केटिङ, व्यवसाय प्रशासन, आमसञ्चार वा जनसम्पर्क विषयमा अध्ययन गरी सामाजिक सञ्जाल व्यवस्थापन तथा सामग्री निर्माणमा कम्तीमा दुई वर्षको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले कम्पनीको अनलाइन आवेदन प्रणालीमार्फत २०८३ साउन १४ गते (२९ जुलाई २०२६) सम्म आवेदन दिन सक्नेछन्।






