काठमाडौं । सेयर बजारको उत्साह एक दिन पनि टिकेन । सोमबार ८३ अंकले बढेको नेप्से परिसूचक मंगलबार घटेको छ । नेपाल स्ठक एक्सचेन्ज (नेप्से) परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ।

आज १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। बैंकिङ, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४५ स्टकको ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको एक करोड ७४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ङादी ग्रुप पावर कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २४ करोड र आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

ADVERTISEMENT

आज पनि ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्रिशूली जलविद्युत कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।