काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९३ अंकले बढेर १६४९.३० विन्दुमा पुगेको छ । सोमबार पनि नेप्से परिसूचक १० अंकले बढेको थियो ।
आज कारोबार रकम पनि बढेको छ । एक करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा सात अर्ब १२ करोड बराबरको कारोबार भएको छ । जुन पछिल्लो एक महिनायताकै सबैभन्दा बढी हो ।
मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घटेको छ । आठ कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल आएको छैन ।
मंगलबार पनि साइप्यानल नेपालको सबैभन्दा बढी २४ करोड ८८ लाखको कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख, शिवम् सिमेन्टको २३ करोड, बन्दीपुर केवलकारको २१ करोड र मञ्जुश्री फाइनान्सको १९ करोड ८१ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
मंगलबार जीवन विकास लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमा नौ–नौ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।








