काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर गरिएको छ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी हुन्। रिट दर्ता भएको उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। अदालतले उक्त रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकेको छ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथामा आधारित रहेको बताइएको छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटाप्रसंशा सुवेदी को अभिनय रहेको छ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

यो फिल्म आगामी वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको छ। यसैबीच, सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।

निर्माता पक्षले उत्पन्न विवादबारे जानकारी दिन आजै आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको जनाएको छ।