काठमाडौँ । विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालको गौरव र पहिचान भएकाले यसको विश्वव्यापी प्रचारमार्फत मात्रै पर्यटक आगमन बढाउन सकिने बताएका छन्।
एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड तथा वल्ड पिस समिट सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।
फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोककला, संस्कृति र पर्यटनलाई विश्वभर चिनाउन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनका अनुसार आगामी कार्यक्रममा ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
फाउन्डेसनले यसअघि जापान, फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स र सुडानलगायत देशहरूमा नेपाली कला, संस्कृति, संगीत, भाषा तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिसकेको जनाएको छ।
उक्त कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।








