काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलामा देखिँदै आएका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय सक्रिय हुनुपर्नेमा जोड दिएको छ।
राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त धारणा राखेका हुन्। संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार उनले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा देखिएका अवरोध र त्यसले दिगो विकासमा पार्ने असरबारे धारणा राखेका थिए।
मन्त्री खनालले पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपाल पनि प्रभावित भएको बताए। उनका अनुसार उक्त क्षेत्रका २० लाखभन्दा बढी नेपाली कामदारका परिवार बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटन क्षेत्रमा आएको सुस्तीबाट प्रत्यक्ष प्रभावित भएका छन्।
उनले द्वन्द्वका कारण उत्पन्न संकटको सबैभन्दा ठूलो असर साना तथा अति कम विकसित राष्ट्रहरूमा परेको उल्लेख गर्दै ती देशलाई एक्लै नछोडी अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारीपूर्वक हस्तक्षेप गर्नुपर्ने बताएका छन्।









