काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच साझेदारी भएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
साझेदारीअन्तर्गत एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ।

यस सहकार्यले नेपालका विभिन्न स्थानमा यात्रा गर्ने विदेशी पर्यटकलाई आफ्नो परिवार, साथीभाइ तथा अन्य सम्पर्कमा रहेका व्यक्तिसँग यात्राभर जोडिन सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले एनसेलको देशव्यापी नेटवर्क र नाटोको पर्यटन क्षेत्रमा रहेको पहुँचलाई उपयोग गर्दै पर्यटकको यात्रा अनुभव सहज बनाउने उद्देश्यले साझेदारी गरिएको बताए। उनका अनुसार सहकार्यले ‘नेपाल कलिङ’ अभियानलाई प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा छ।
नाटोका अध्यक्ष श्रेष्ठले पर्यटन मानिस, संस्कृति र अनुभवलाई जोड्ने माध्यम भएकाले नेपाल आउने पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने सहकार्य महत्वपूर्ण रहेको बताए।
दूरसञ्चार सेवासँगै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा आधुनिक वास (WASH) पूर्वाधार स्थापना गर्नसमेत सहयोग गर्ने भएको छ।
यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। परियोजनाअन्तर्गत सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पूर्वाधार निर्माण गरिने बताइएको छ।
एनसेल र नाटोले यो पहलबाट पर्यटकसँगै स्थानीय समुदायलाई समेत सुविधा पुग्ने तथा नेपालमा दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन्।






