काठमाडौं। नेकपा एमाले का नेता रामबहादुर थापा ‘बादल’ लाई संसदीय दलको नेतासँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत दिइएको छ।एमाले नेता ऐनबहादुर महर का अनुसार संसदीय दलको नेता चयन भएसँगै बादललाई पार्टीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि दिएको हो।
जेनजी आन्दोलनको छानबिनका क्रममा बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीभित्र नेतृत्व परिवर्तन गरिएको हो। ओली हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्।सोही घटनामा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक पनि पक्राउ परेका छन्।
यसैबीच, च्यासलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले बादललाई दलको नेतामा चयन गरेको हो। निर्वाचन प्रक्रिया सुरु गरिए पनि अन्ततः बादल एक्लै उम्मेदवार रहेपछि उनी निर्विरोध निर्वाचित भएका थिए।सुरुमा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरे पनि अन्तिम समयमा उम्मेदवारी नदिएपछि बादलको बाटो सहज बनेको थियो। उनी नै बादलको प्रस्तावक बनेका थिए।
एमाले निर्वाचन समितिले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा प्रक्रिया अघि बढाएको थियो। प्रतिनिधिसभामा एमालेका २५ सांसद रहेका छन्।माओवादी पृष्ठभूमिबाट आएका बादल पछिल्लो समय ओलीका निकट सहयोगीका रूपमा चिनिँदै आएका छन्।








