काठमाडौं । सुनसरीको देवानगन्ज घटनालाई लिएर नौ दलले संयुक्त विज्ञप्ति निकालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको आह्वानमा बुधबार भएको सर्वदलीय बैठकपछि जारी सातबुँदे अपिलमा सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिबारे गम्भीर समीक्षा गरिएको छ ।

ADVERTISEMENT

नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै वक्तव्यमा सदियौंदेखि कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन आमनागरिकहरूमा अपिल गरिएको छ । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

लोकतान्त्रिक प्रणालीमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव हुने स्पष्ट पार्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न आह्वान गरिएको छ ।

ADVERTISEMENT

यस्तै, समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने ठहर गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गरिएको छ ।

स्थानीयस्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता औंल्याइएको छ । भविष्यमा देशका कुनै पनि भू–भागमा यस्ता प्रकृतिका दु:खद घटनाहरू दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहले आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाललगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थितिलाई थप भयावह बनाउन सक्नेतर्फ सचेत गराउँदै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गरिएको छ ।

नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व रहेको स्पष्ट पार्दै अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दु:ख व्यक्त गर्दै बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।