काठमाडौं । ल्यान्ड रोभरले आफ्नो लोकप्रिय लक्जरी एसयूभी ‘डिस्कभरी स्पोर्ट’को उत्पादन सन् २०२६ को डिसेम्बरबाट आधिकारिक रूपमा बन्द गर्ने घोषणा गरेको छ। सन् २०१५ देखि उत्पादन हुँदै आएको यो मोडलले करिब ११ वर्षको यात्रा पूरा गर्दै इतिहास बन्ने भएको हो।
डिस्कभरी स्पोर्ट ल्यान्ड रोभरको इन्ट्री–लेभल लक्जरी एसयूभीका रूपमा परिचित थियो। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र बहुउपयोगी क्षमताका कारण यसले विश्वका विभिन्न बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरेको थियो। यो मोडलले सार्वजनिक हुँदा कम्पनीको चर्चित ‘फ्रिल्यान्डर’लाई प्रतिस्थापन गरेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्ला वर्षहरूमा घट्दो बिक्री, विद्युतीय सवारीसाधनतर्फ बढ्दो आकर्षण र युरोपेली संघको ‘जनरल सेफ्टी रेगुलेसन–२’ अन्तर्गत लागू भएका नयाँ सुरक्षा मापदण्ड उत्पादन बन्द गर्ने निर्णयका प्रमुख कारण बनेका छन्। नयाँ नियमअनुसार आधुनिक सुरक्षा प्रविधि अनिवार्य गरिएकाले पुराना प्लेटफर्ममा आधारित मोडललाई अद्यावधिक गर्न ठूलो लगानी आवश्यक पर्ने अवस्था सिर्जना भएको बताइएको छ।
ल्यान्ड रोभरले सन् २०२० मा डिस्कभरी स्पोर्टलाई नयाँ प्लेटफर्म, परिमार्जित इन्टेरियर र आधुनिक प्रविधिसहित अपडेट गरेको थियो। त्यसपछि पनि कम्पनीले मोडललाई प्रतिस्पर्धी बनाउने प्रयास गरे पनि बजारको बदलिँदो प्रवृत्तिले यसको भविष्य प्रभावित भएको देखिएको छ।
विश्व अटो उद्योग तीव्र रूपमा विद्युतीय सवारीसाधनतर्फ केन्द्रित भइरहेका बेला ल्यान्ड रोभरले पनि आफ्नो उत्पादन रणनीतिलाई विद्युतीकरणमा केन्द्रित गर्दै डिस्कभरी स्पोर्टको उत्पादन अन्त्य गर्ने निर्णय लिएको हो। उत्पादन बन्द भएसँगै यो मोडल ल्यान्ड रोभरको इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरणीय रहने अपेक्षा गरिएको छ।





