काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ परेपछि एमालेले आइतबार ७७ जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने भएको छ।

शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार एमालेले आइतबार ७७ वटै जिल्लामा विरोधका कार्यक्रम तय गरेको हो।
एमाले सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने कार्यक्रम छ।

ADVERTISEMENT

जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा जाँचबुझ आयोगले दोषी ठहर गरेपछि शनिबार बिहानै ओली र कांग्रेस एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

ADVERTISEMENT

एमालेले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै त्यसलाई खारेज गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। एमालेले ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भन्दै यसको राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। परिस्थितिको सामना गर्न एमालेले तीन जना शीर्ष नेताहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ।

गृहमन्त्री सुधन गुरुङले भने ओली र लेखक पक्राउको कदम कुनै प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन्। पक्राउ परेका ओली र लेखक दुवैलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ।

एमालेले भने गिरफ्तारीविरुद्ध आइतबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी समेत गरेको छ। एमालेले आफ्ना कार्यकर्ताहरूलाई शान्तिपूर्ण, तर सशक्त रूपमा विरोधमा उत्रन निर्देशन दिएको छ।